किस क्रान्ति!

(१)

“एउटा कुरा भनुम्?”

“अँ, भन न। ”

“मलाई तिम्रो असाध्यै माया लाग्छ।”

“अनि?”

” तर तिमीलाई खुसी राख्न सक्दिनँ की भनेर डर पनि लाग्छ। “

मौनता एकछिन केही बोलिन, अनि सुयोगको आँखामा हेर्दै भनी, “म खुसी छु तिमीसँग।”

मौनता र सुयोग १ वर्षदेखि रिलेशनशिपमा थिए। सुयाेगले उसमा र आफूमा अ लट इन कमन देखेर फेसबूकमा प्रपोज गरेको थियो। मौनता भने अझै पनि प्रष्ट भिन्नताहरू देख्दथि।

तर मौनताको प्रेम उसको नाम जस्तै थियो, कहिलेकाँही डरलाग्दो अनि धेरैजसो शान्त। अनि उसलाई सुयोगले सुरुसुरुमा ‘माई मिस्ट्री गर्ल’ भनेर पनि बोलाउँथ्यो। सामान्य कुरालाई मान्छेहरूले आफ्नै पाराले बंगाएर भनेको सहन गार्हो हुन्थ्यो उसलाई, सायद त्यसैले होला अनायासै एकदिन भनेकी थी,”म तिमीभन्दा धेरै गरीब छु, सुयोग। मैले गरिबीलाई नी ,यति भोगेको छु कि, त्यो तिमी बुझ्नै सक्दैनौं के।”

सुयोगलाई के भन्नु के भन्नु भको थ्यो। घटना र कुराहरूलाई विशेषण दिन उसलाई राम्ररी आउँथ्यो तर आफू कसको घरमा जन्म लिइन्छ भनेर थाहा नहुनुको ट्रेजेडीलाई कुन वाक्य फाल्नु? त्यो माथि उसलाई मौनताले बन्देज लगाएकी थिई बिहे बारे कुरा गर्न। सोचेर भनेको थ्यो उसले, “ट्राई गर न त, बुझाउ मलाई कस्तो हुन्छ गरिबी।”

त्यो सुनेर मौनाताले मज्जाले व्यंग मिश्रीत मुस्कान दिएकि थी। मुस्कान सेन्स गरेर हो की, उसको छेउ एउटा सेतो कुकुर आएर बस्यो। झण्डै गर्व गर्दै उसले भनेकी थिई त्यो बेला सुयोगलाई,

“मरेको मुसाको गन्ध बारे बुझ्न चाहन्छौ कि चाहनाको कम्प्रोमाइज बारे? गरिबीमा थुप्रै आयाम हुनछन् यार, मैले भनेँ त तिमी बुझ्न सक्दैनौं भनेर। मैले भन्न खोज्या यत्ति हो की तिम्रो खुसी भन्दा मेरो खुसी सधैं थोरै हुनेछ ।”

“अँ, तिमी दुःख डिजर्भ गर्दैनौ त्यैपनि जिन्दगीले दियो, के गर्नु त? तर मैले प्रिभिलेज पाए भन्दैमा मेरो खुसी तिम्रोभन्दा ठूलो अनि मेरो दुःख तिम्रोभन्दा सानो छैन, बुझ्यौं? मैले पनि धेरै कुरा भोगेको छु।”

मौनता फेरिपनि मौन बसेकी थिई।

(२)

त्रिभुवन विश्वविद्यालयमा झमझम पानी पर्दै थियो। विद्यार्थीहरुलाई मौसमले च्यालेन्ज दिएकै थियो र चुरोट र ठो को बास्ना सँगै कीर्तिपुरका साना पस: हरुमा जङ्गिदै थियो राजनीती, दर्शन, व्यापार अनि मार्क्सवाद। तर, कसैले पनि कसैलाई भेटिरहेका थिएनन्। गोलो चक्रमा घुमेकै घुमाई हुन्थ्यो त्यो बहस, अनि विरक्त त त्यतिबेला लाग्थ्यो जब आफूलाई आफैले सही भन्ने विद्यार्थीको भन्दा पनि अर्काको विचारलाई तुच्छ भन्दिने विद्यार्थीको स्वर झन् चर्को हुँदै जान्थ्यो।

त्यस झरीमा एउटा अविरल जोडी भने रुझ्दै थियो, तर रोमान्टिक भएर होइन। मौनता र सुयोग दुवैजना छाता बोक्ने खालका मान्छे थिएनन्। अझ, अरुलाई माग्नु त पाप लाग्थ्यो उनीहरूलाई!

पानी झन् ठूलो भएपछि उनीहरू पनि दौडिँदै एउटा बिल्डिङ्ग मुनि गएर ओत लागे। मौनता आफ्नो कपाल सुकाउन थाली अनि सुयोग आफ्नो टी सर्ट खोलेर पानी निचोर्दै थियो। त्यतिकैमा मौनताले सुयोगको ढाडमा छोएर आँखा नझिमक्याई भनेकी थिई, “सुयोग?”

“हजुर?”

“आज सेक्स गरुम न।”

“हस्,माई लभ, तिमी भन न मात्र।”

“अब धेरै बोलेर मूड नबिगार है”, भन्दै मौनता आँखा चिम्म गरेर उभिई। ऊ पहिलो पटक सबमिसिभ भएकी थिई।

सुयोग बिस्तारै उसको फिक्का ओठ तर्फ अघि बढ्यो र उसलाई मज्जाले चुम्बन गर्यो। “दिस इज द बेस्ट किस एभर”, दुवैजना मनमनै सोच्दै थिएँ।

तर त्यो दिन मूड बिग्रिनु नै रहेछ। भाषिक संकाय अन्तर्गतका एक प्रोफेसर त्यही बाटो हिड्दै रहेछन्। उनीहरूलाई देखेछन् र उनलाई के लाग्थ्यो भने त्यो नै अमर्यादित व्यवहारको पराकाष्ठा हो। यता मौनता र सुगामले कता जाने भनेर प्लान बनाइसकेका थिए। उता प्रोफेसर शर्माले आफ्नो प्रिय विद्यार्थीलाई उनीहरूलाई आफ्नो अफिसमा डाक्न फोन गर्दै थिए।

(३)

“मेरो यौनिक स्वतन्त्रता माथि दखल दिने के हैसियत राख्नुहुन्छ तपाईं?” मौनता प्रोफेसर शर्माको मुख देखेर अनि उसको आरोप सुनेर रिसले आगो भइसकेकी थिई। सुयोग भने केही बोल्न सकिरहेको थिएन। उसलाई पनि खै के ले थिचेर हो, ठूलो गल्ती गरेको आभास भैरहेको थियो।

“यो नेपाल हो केटी बुझिस्, अमेरिका हैन। हाम्रो आफ्नै संस्कार र संस्कृति हरु छन्। विद्या लिन आउने ठाउँमा त्यस्तो काम गर्ने हो, छि छि छि छि,झन् यो त नांगै थियो,तिमीहरूको बुद्धि।” प्रोफेसर मौनतालाई मौन पार्न चाहन्थ्यो।

“तपाईंले आफ्नी श्रीमतीलाई कहिले चुम्बन गर्नुभएको छैन जस्तो लाग्यो सर, र यदि छ भने पनि म्याडमलाई खासै मन परेन होला।” सुयोगले आँट गरेर मुख खोल्यो।

प्रोफेसर शर्माले बिस्तारै आफ्नो आँखा झुकायो र आफ्नो टेबुल बाट एउटा फाइल झिक्यो। “साला हिप्पी हरु”, गनगनायो आफैलाई।  मौनता फाइलको नाम पढ्न खोज्दै थिई। सुयोग डर र चिसोले काँपिरहेको थियो। प्रोफेसरले आफ्नो अँध्यारो अफिसमा रातो मसी भरिएको कलम झिक्यो र आफ्नो सही गर्यो। र, भन्यो, “तिमीहरू दुवैजना १ महिनाको लागी निलम्बित भएका छौं, यो नै आधिकारिक नोटिस हो।”

“माफ गर्नु होला सर, हामीले तपाईंको मुटुलाई दुखाएको भए, तर यो युगमा किस गर्यो भनेर सस्पेण्ड गर्न पाइँदैन।” मौनतालाई सीधा आँखामा हेर्दै भनी।

“पाइँदैन रे, भइसक्यो। यो राम्रो व्यवहार र सङ्केत होइन अनि तिमिसँग म छुट्टै कुरा गर्छु, मौनता। तिमीहरू त झन् खुसी हुनुपर्ने, १ महिना टाइम देको छु हनिमुन मनाउन।” प्रोफेसर शर्मा आफ्नो कुर्सीबाट उठ्यो र उनीहरूलाई अगाडि बढ्न इशारा गर्यो।

मौनता शान्त रहन सकिनँ। उसले भन्दै थिई, “के तपाईंलाई आफ्नो व्यवहार  सधैं मर्यादित लाग्छ सर? यो पनि? कस्तो मान्छे यार तपाईं…”, तर यति भन्दै गर्दा उसका आँखा रसाए। उसले आफ्नो मुख आफै बाङ्गिन थालेको महसुस गरी। उसका हातखुट्टा गल्दै थिए।

सुयोगले मौनतालाई आफूतिर तान्यो र नरुन भन्यो। उनीहरू पछाडी फर्किए र ढोकासम्म पुगे पछि सुयोगले अर्कै टोनमा टाउको घुमाउँदै भन्यो, “शर्मा सर, वि विल फाइट यु।”

(४)

मौनताले कहिल्यै पनि आफू प्रेमको लागि क्रान्ति गर्ने स्थानमा पुग्छु भनेर सोचेकी थिईन। तर, उसलाई समयले एउटा मौका दिए जस्तो लाग्यो। उसले सम्झी आफ्नो बाल्यकाल हाम्रो आफ्नै मिड सिक्सटिक्स तिर, जतिबेला जताततै प्रेमवादको प्रश्नचिन्ह कोरिएको हुन्थ्यो। तर, उसको मानसपटलमा भने त्यो एउटा बिजुलीको पोलको दृश्य घुमिरह्यो जसमा प्रश्नचिन्ह थिएन।

क्रान्ति सजिलो हुँदैन रहेछ। र, छोटो पनि। मौनता र सुयोग त्यो घटना पछि सबैभन्दा पहिला विद्यार्थी संघको अफिसमा गएका थिए। त्यहाँ उनीहरूको कुरा त सबैले सुने तर केही गर्न कोही तयार भएनन्।  किसको लागि लड्ने हाम्रो राजनीति होइन, सिधै भनीदिएको थियो एउटाले।

त्यसपछि उनीहरूले निलम्बनको कानूनी जायजता बुझ्न एकजना वकिललाई खोजे। वकिल एकदमै मृदुभाषी थियो। उसले भने अनुसार कानुनले विश्वविद्यालयमा गरिने किसबारे परिकल्पना गरेको थिएन। “तर, सार्वजनिक स्थानमा किस गर्न अझै मनाही छ र यो कानुनलाई बदल्न सक्ने तागत तपाईंहरुको केसमा छ। तपाईंको योगदानलाई भविष्यका पुस्ताहरुले सम्झिनेछन्, तपाईंहरू प्रेमको सिम्बोल बन्नु हुनेछ।”

दुवैजना मस्किए। वकिल फेरि बोल्यो,  “तर तपाईंहरूले मुद्धा दायर गर्न सम्भावित कारण चाहिन्छ। भन्नुस्, प्रोफेसर शर्माको बारेमा के के भन्न सक्नुहुन्छ।”

“पहिलो त उसले हामीलाई नराम्रो शब्द प्रयोग गरेको छ, अनि म रुँदा पनि उसले कुनै संवेदना देखाएन।”, मौनताले भनी।

“हामीलाई हिप्पी भनेको थ्यो सर त्यसले, अनि हनिमुन जा पनि भनेको थियो।”, सुयोगले शब्द भन्यो।

“आई सी! ल, तपाईंहरू अहीले दर्ता दस्तुर र एड्भान्स पे गरेर जान सक्नुहुन्छ। लडाइँको दिन तय भएपछि म हजुरलाई सम्पर्क गर्नेछु। र, चिन्ता नलिनुस्, यो कुनै ठुलो लडाइँ हैन।”

सुयोग र मौनता आश्वस्त थिए। तर, दुवैजनाले घरमा भनेका थिएनन्। मौनता नभन्ने सोचमा थिई। उनीहरूले वकिलको दस्तुर मिलेर तिरे र फुटपाथमा पुगिसकेपछि सुयोगले मौनतालाई चुम्बन गर्दै भन्यो, “टु द रिभोलुसन अफ किस, जय किसक्रान्ती।”

(५)

मुद्धा चल्यो। पूरा ६ महिना चल्यो। प्रोफेसरको वकिलले सुयोग अर्धनग्न अवस्थामा रहेको र वहाँको यौन जीवनमा प्रश्न उठाएको कुरामा धेरै जोड दिएपछि न्यायाधीश पनि थोरै उतै तिर ढल्केका थिए। मौनताको वकिलले बेलाबेला मन जिते पनि पूर्वीय सभ्यताको कुरा निस्केपछि फेरि गार्हो भइहाल्थ्यो। र, मुद्धा निलम्बन भन्दा बेसी सार्वजानिक स्थानमा प्रेम व्यक्त गर्ने पाइने स्वतन्त्रता सम्बन्धी थियो। प्रोफेसरले मौनतासँग छुट्टै कुरा गर्ने भनेको प्रसङ्गले मात्र उनीहरूको केस चलायमान थियो।

पाँच महिनापछि मौनताले अति भएर सामाजिक सञ्जालमा आफुले गरिरहेको किसक्रान्ति बारे पोस्ट गरी। घर छिमेकले थाहा पाउलान् भन्ने डरले उनीहरूले सो गरेका थिएनन्। सुयोग भने डिप्रेसनमा थियो।

सञ्जालका भित्ताहरू चाँडै किस क्रान्तिको समर्थनले ढाकिए।कतिले मिम बनाए र कतिले कविता। एउटा जमातको आलोचना पनि उत्तिकै थियो। आर्टवर्क, बहस, ह्यासट्याग अनि केसको समाचारले दुई तीन हप्ता शहरी युवा धेरै हौसिएका थिए। ती मध्ये केहीले अभियान नै चलाए, किस गर्दै गरेको फोटो पोस्ट गर्ने। र, त्यसले कति सहयोग गर्यो या गरेन त भन्न सकिँदैन तर अन्त्यमा किस क्रान्ति सफल भएरै छोड्यो। मौनता र सुयोगले लडेको त्यो ६ महिनाको लडाइँले गर्दा देशमा अब किस गर्नु अपराध थिएन।

मौनता र सुयोगलाई अविरमाला लगाइयो। वकिलले भने जस्तै उनीहरु प्रेमको सिम्बोल बनेका थिए। दुवैजना आफ्नो संघर्षको कथा सँगै सुनाउन पाउँदा असाध्यै खुसी थिए। तर चर्चा न हो, सेलाइहाल्छ। अर्को महिनामा उनीहरुलाई सबैले बिर्से र वर्तमानको वास्तविकता अप्ठ्यारो थियो।

सुयोगको बाउ छोराले आफ्नो बचत खाताको सबै पैसा वकिललाई बुझाएको थाहा पाएपछि की त घर की त मौनतालाई छोड्न दबाब दिँदै थिए। एउटालाई छोड्ने बित्तिकै उसको जीवनमा जाने कुनै ठाँउ बाँकी हुँदैन थियो। मौनतालाई त झन् भन्न पनि सकेको थिएन।

धेरै सोचेर उसले एउटा पक्का निर्णय भेट्यो मनमा, सुयोग घर छोड्न तयार भयो। मौनतालाई फोन गरेर भन्यो, “क्रान्ति गरियो, अब फेरि गरिबीमा फर्कौ, माया। मैले तिम्रो लागि घर छोडेको आज बाट। अब बुझाउ मलाई गरिबी, लग मलाई कतै।”

“हरे शिव, म कता लग्नु तिमीलाई?”

“हामी सँगै पहाडतिर बस्न जाउँ, की त शून्य लगानी लिएर पैसा कमाउन थालौँ। के भन्छौ?”

“म जान्छु तिमीसँग, पहाडतिर।”

एक क्षणको लागि सुयोगको खुसीको कुनै सीमा थिएन। त्यसपछि सीमाहरू आँफै निर्माण हुन थाले। त्यति नै बेला मौनताले भनी, “अब बल्ल हाम्रो सुखदुःख बराबर हुनेछ।”

Leave a comment