लकडाउन नैराश्यता

थाहा भएकै कुरा हो, देश लकडाउनमा छ। आकाश र आँशु निरन्तर वर्षिरहेकै छ। मानिसहरू निराश छन् र पसलहरु बन्द छन्। सबैलाई चिन्ताले सताएको छ तर यो कुनै नयाँ चिन्तन पक्कै हैन। हरेक व्यक्ति जीवनमा निरन्तर आफ्नो आत्म-छविको साख जोगाउन लागि पर्छ। उसको सामाजिक प्रतिष्ठा, धन सम्पति, स्वास्थ्य, बालबच्चा र उसको नशा, यी सबै उसको आत्म-छविलाई विस्तार गर्ने पूरक तत्व हरु हुन। र, लकडाउनले व्यक्तिको आत्म-छविलाई नराम्ररी धक्का दिएको छ। उसको सम्पूर्ण जीवन खतरामा छ र ऊ आज केही पनि गर्न सक्दैन किनभने केही गर्नुको अर्थ उसको भ्रमको पर्खाल भत्काउनु हुनेछ। यस्तै कुराहरू मनमा खेलाउँदै एउटा योगी बागमतीको किनारमा हिँड्दै थियो।

थापाथलीबाट टेकु सम्म आइपुग्दा उसले बाटोमा थुप्रै मान्छे देख्यो। कोही सूर्य चुरोट खान घरबाट निस्केका थिए, त कोही घामको किरण टाउकोमा ठोक्काउन लाई। हुन पनि हो, योगी सोच्दछ, अँध्यारो कोठामा बस्नेलाई घाम पनि एउटा आवश्यकता हो। आफू भित्रको अँध्यारो देख्न नसक्ने मान्छेले उज्यालोको स्वरूप बुझ्दैन।

योगीको कुनै गन्तव्य थिएन। न त ऊ भोकाएको नै थियो। हिजो राती ऊ एक पोका सुख्खा चाउचाउ खाएर मसानघाटमा सुतेको थियो। जति नै खाली पेट भए पनि उसले कहिले खानेकुरा मागेन। योगीलाई आफू प्रति गर्व त थिएन, तर ऊ अरु मानिसलाई आफूभन्दा विमुल्य भने पक्कै सोच्थ्यो। पिपलबोट पुग्नै लाग्दा उसलाई कसैले बोलायो, “ओए जोगी, कता हिँडेको, मास्क खोइ तेरो?”

“मैले समाज बाट दुरी कायम गरेको छु सर, र म यो खोलामा पर्ने अर्को मसानघाट जाँदै छु”, योगीले पछाडि नफर्की जवाफ फर्कायो। त्यति भन्ने बित्तिकै नाङ्गो तिघ्रा मुन्तिर भाटा खायो। त्यस एक क्षणको पीडालाई उसले आफूभित्र यति सोस्यो की त्यो पीडा अर्को क्षण कम्पन सकेन। ऊ आफ्नै सुरमा अगाडि हिड्यो। उसलाई भाटा हान्ने निराश प्रहरी जवानले जोगीलाई होल्डिङमा राख्न उपयुक्त ठानेन। सायद जति कुटे पनि नरुने आफ्नो छोरालाई सम्झेर पो हो कि!

योगी खोलाबाट माथि मूल सडकमा उक्लियो र देख्यो शून्य सहर। पर पर सम्म कोही थिएन। उसले वरिपरिका भवनहरू हेर्यो जुन एकछिन हेरिरहे पछि ती घरहरू अपरिचित जस्ता लागे। “यस्ता डब्बा जस्ता कोठाहरूमा कसरी बाँचेको हो मेरो प्रजाती? सोच र मानिस एक्लै कोठामा थुनिँदा अन्तिममा आउने परिणाम पागलपन नै हो र? मलाई पनि सबैले पागल नै भन्छन् तर मूर्खहरुले निर्माण गरेको समाजमा सबै पागल हुन्छन् जुन अस्वस्थता समाजले चिन्दैन।” योगीले सोच्यो।

खोलाको छेउ हिड्दै गरेको योगीको भेश अरुबेला भन्दा भिन्न थ्यो। उसले आज धेरै पछि कालो गेरुवस्त्र धारण गरेको थियो। मुजा परेका भएपनि उसको मुहार उज्यालो देखिन्थ्यो। पछाडी आफै भाङको बोटले सिलाएको सानो झोला भिरेको थियो जसमा पानीको बोतल र केही नोट थिए।

बाटोमा उसले थुप्रै जन्तुहरुलाई देख्छ। आफू छेउ आएका कुकुर हरुलाई सुम्सुम्याउँदै गर्दा उसको अगाडि एउटा सेतो रंगको पुरानो कार आएर रोकिन्छ। चालकले उसको छेउमा गाडी रोकेर बिस्तारै झ्याल खोल्दै गर्दा योगी केही नबोली उभिएको थियो।

“प्रणाम बाबाजी, जय शम्भो!”, सुटमा सजिएको चालकले आफ्नो कालो चस्मा र मास्क नखोली योगीलाई नमस्कार गर्यो।

“नमस्कार, महाशय, किन हजुरको साधन रोक्ने कष्ट गर्नुभएको होला?”

“म निराश छु, प्रभु! यत्तिका वर्षमा मलाई निराशाले छुन सकेको थिएन। भित्र आउनुस् न, म हजुरलाई पुर्याइदिन्छु, बरु एकछिन गफ गाफ नी गरौं!”

योगीले थोरै अप्ठ्यारो माने पनि अन्त्यमा कारको पछाडिको ढोका खोलेर भित्र पस्यो। भित्र चुरोटको गन्ध भन्दा एयर फ्रेशनरको गन्ध अलिक बलियो थियो। चालक ४०-४५ उमेरको हुनु पर्दो हो, योगीले सोच्यो।

“हजुरले कति वर्षको हुँदा मोह त्याग्नुभएको प्रभु?” चालक कुरा र गाडी अगाडि बढाउँछ।

“त्यो आवश्यक छैन होला, बरु तपाईं किन निराश हुनुहुन्छ भन्नुस् न, म सक्ने जति सहयोग गर्नेछु”, योगीले जवाफ फर्काउँछ।

“अरु मान्छेहरू भेट्न नपाउँदा मलाई मानिस बन्न गार्हो भइरहेको छ बाबा। मैले मेरो सफलतालाई फर्केर हेर्दा विशाल देख्ने गरेको थिए तर आजकल त्यो सफलताले मलाई बिझाउँछ।”

“तपाईंको घर परिवारमा कोको हुनुहुन्छ?”

“मेरी श्रीमती, अनि एउटा छोरी छे अष्ट्रेलियामा। यहाँ चाहिँ दुईजना मात्र बस्छौ। म लकडाउन अगाडि सारै व्यस्त हुन्थे, सबैले ज्यू नमस्कार गर्थे, मेरो काम मात्र सोच्नु र निर्णय लिनु हुन्थ्यो। अहिले मसँग सोच्नलाई काम पनि छैन र मेरा पुराना सोचहरु रुमल्लिदै छन्। मैले यति धेरै कुराहरु आफू भित्र दबाएको रहेछु जुन अहिले आएर प्रस्फुटन हुँदै छ।”

“कस्तो सोचको कुरा गर्नुभएको?”

“घिनलाग्दा सोचको, जुन एकचोटि सोचिसके पछि निराशा बनेर मनमा टाँसिन्छ। के मेरो सम्पूर्ण सफतला भन्दा मेरो छाडापन र बाल्यकालका नमिठा सम्झना ठूलो छ यो दिमागलाई?”

“तपाईंको दिमाग मैले बुझ्न सक्दिन। मैले भन्न सक्ने यति नै हो, तपाईंको मन शान्त छैन। शान्त पार्न चाहनुहुन्छ भने मैले जस्तै घर परिवार र सम्पति त्याग्नु होस् । र अहीले, यही क्षणमा निर्णय लिनुहोस् नत्र मलाई यहाँ अगाडि सम्म छोडिदिनु भए हुन्छ।”

चालक अगाडिको खाली सडक हेर्दै टोलाउँछ। आफ्नी श्रीमतीलाई सम्झिन्छ अनि आफ्नो घरको सबै कोठाहरु दिमागको कोठाबाट चिहाउँछ। उसलाई ती स्मृति खैरा र निरस लाग्छन र आफुले जीवनमा गरेका कपट सम्झिदै गर्दा ऊ विरक्तिन्छ।

“म सांसारिक मोह ह्वात्तै त्याग्न तयार छु प्रभु, भन्नुस् कहाँबाट सुरु गरौं?”

योगीलाई खाइलाग्दो व्यापारीले संसार त्याग्ने कुरा गरेको सुनेपछि अचम्म लाग्यो। “सुरुमा यो गाडी बाग्मतीमा हुल्दिउँ न त?”, योगीले हाँस्दै भन्याे।

चालक तथा व्यापारी धर्मसंकटमा पर्यो। खोलामा हाल्दिम भने आफ्नो पहिलो कार, नहालुम भने योगीको आदेश। उसले अन्त्यमा आफुले जीवनभर गर्दै आएको काम गर्ने सोच बनायो, बार्गेनिङ। अझ राम्रो सुनिने गरी भन्नु पर्दा, नेगोसिएटिङ।

“म यो गाडी त फाल्न सक्दिन प्रभु, तर मेरो मन मेरो शरिरलाई बाग्मतीमा कल्पना गर्दै छ। मैले आफूलाई जति सुकिलो भएको
सोचे पनि यो लकडाउनले मेरो मगजको मैलो उजागर गरिदियो। मैले बाग्मतीमा हाम फाले भने मेरो मन र आत्मा फेरि पवित्र हुन्छ त प्रभु?”

योगीलाई व्यापारी बडो रोचक लाग्यो। मनको मैलो फाल्न बाग्मतीमा शरीर हुल्ने हिम्मत भएको मानिस भेटाउन वास्तवमै गार्हो हुन्छ। तर योगीलाई परवाह थिएन। उसले भन्यो, “तपाईंको मर्जी, तर म केही पनि ग्यारेन्टी गर्न सक्दिन। सबै कुरा तपाईंमा नै भर पर्छ। मात्र एउटा कुरा याद राख्नुहोस, तपाईंको सोच र तपाईं भिन्नाभिन्नै कुरा होइन।”

“म बुझ्दै छु, प्रभु, म सबै कुरा बुझ्दै छु।”

“के बुझ्दै हुनुहुन्छ?”

“की मेरो अरु मान्छेलाई हेर्ने दृष्टिकोणमा ठूलो खोट रहेछ। मेरो सबै विश्वास मात्र मेरो अनुमान रहेछ, त्यस्तै त्यस्तै”

“यो महान् खोज हो महाशय, अझै आफू भित्र डुब्दै जानुस् तर कुनै पूर्वाग्रह वा सिद्धान्तलाई नसमात्नुस्, केही नयाँ कुरा पत्ता लाउनु छ भने तपाईंको भुतमा नअल्झिनुस्।”

“थ्याङ्क यु, बाबाजी, धेरै प्रेरणा दिनुभयो हजुरले। अब भन्नुस् कहाँबाट खोलामा छिर्दा ठीक होला?”

“मैले भनिसकें, तपाईंको मर्जी हो।”

“ल म ऊ त्यो ढुङ्गाबाट छिर्छु।” व्यापारीले आफैलाई सन्तोष दिने मुस्कान सहित योगीलाई औंलाले ढुङ्गा देखायो।

व्यापारीले झाडी र सडक छुट्टिने ठाउँमा लगेर कार रोक्यो। योगी कारबाट बाहिर निस्केर खोला तिर हेर्दै टोलाउन थाल्यो। व्यापारी भित्र आफ्नो चस्मा, सर्ट र प्यान्ट फुकाल्दै थियो। उसको मनमा एउटा छुट्टै उमंग जागेको थियो, मनको मैलो पखाल्न पाउँदा। र, मञ्जुश्री छेउको बागमती खासै फोहोर पनि थिएन।

स्यान्डो र बक्सरमा व्यापारी बाहिर निस्क्यो र योगीलाई हेरेर मुस्कुरायो। योगीले पनि मुस्कान फर्कायो अनि आँखाले अघि बढ्न अनुमति दियो। व्यापारी दौडिँदै खोलातिर गयो र खुट्टा चुर्लुम्म डुबायो। अनि सोच्यो, मैले बाग्मतीमा मेरो टाउको डुबाएर दिमागलाई खाली गर्नुपर्छ। खोला गनाएको उसलाई अलिकति पनि असर परेको थिएन। ऊ आज पहिलो पटक मुक्त महशुस गरिरहेको थियो। उसले लामो श्वास भित्र तान्यो र नमस्कार गर्दै खोला भित्र पस्यो। १ मिनेट पानीमा बसेर बाहिर निस्किँदा योगी र उसको कार गायब भइसकेका थिए।

Leave a comment